अनुसूची
न्युनतम योग्यता

अनुसूची

(नियम २३ सँग सम्बन्धित)

न्युनतम योग्यता

(१)   सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लागि :–

(क)   विज्ञापन प्रकाशित भएको दिन एक्काईस वर्ष उमेर पूरा गरी पच्चीस वर्ष ननाघेको,

      तर खुला प्रतियोगितामा भाग लिने राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीको हकमा तीस वर्ष ननाघेको र  सशस्त्र प्रहरी जवान वा सशस्त्र प्रहरी अधिकृत आधारभूत तालीम लिएका हुनु पर्नेछ ।

(ख)   मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको,

(ग)   पुरुषको हकमा उचाई कम्तीमा पाँच फिट दुई इञ्च र तौल कम्तीमा पचास किलोग्राम तथा महिलाको हकमा उचाई कम्तीमा पाँच फिट र तौल कम्तीमा बयालीस किलोग्राम भएको,

(घ)   नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको,

(ङ)   पुरुषको हकमा छाती नफुलाउँदा एकतीस इञ्च र फुलाउँदा तेत्तीस इञ्च भएको,

(च)   आँखा माइनस दुई वा प्लस दुई भन्दा बढी कमजोर नभएको,

(छ)   प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको,

(ज)   आफूले अध्ययन गरेको शिक्षण संस्था र आफ्नो नातेदार बाहेकका अन्य दुई जना नेपाल सरकारको बहालवाला राजपत्राङ्कित अधिकृतबाट राम्रो चरित्रको सिफारिस पाएको,

(झ)   नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,

(ञ)   दरखास्त दिँदाका बखत राजनीतिक दलको सदस्य नरहेको,

(ट)   आतङ्ककारी सङ्गठनको सदस्य नरहेको,

(ठ)   भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,

(ड)   मानवअधिकार र मानविय कानूनको उल्लङ्घनमा सजाय नपाएको,

(ढ)   नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको ।

(२)   सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि :–

(क)   विज्ञापन प्रकाशित भएको दिन अठार वर्ष उमेर पूरा भई तेईस वर्ष ननाघेको,

      तर खुला प्रतियोगितामा भाग लिने राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीको हकमा तीस वर्ष ननाघेको र सशस्त्र प्रहरी जवान आधारभूत तालीम लिएका हुनु पर्नेछ ।

(ख)   मान्यताप्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको,

(ग)   प्रकरण (१) को खण्ड (क) र (ख) बाहेकका अन्य योग्यता भएको ।

(३)   सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी जवान पदका लागि :–

(क)   विज्ञापन प्रकाशित भएको दिन अठार वर्ष उमेर पूरा भई बाईस वर्ष ननाघेको,

      तर खुला प्रतियोगितामा भाग लिने राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीको हकमा तीस वर्ष ननाघेको हुनु पर्नेछ ।

(ख)   कम्तीमा आठ कक्षा उत्तीर्ण गरेको,

(ग)   पुरुषको हकमा छाती नफुलाउँदा तीस इञ्च र फुलाउँदा बत्तीस इञ्च भएको,

(घ)   प्रकरण (१) को खण्ड (क), (ख) र (ग) बाहेकका अन्य योग्यता भएको ।

(४)   सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी परिचर पदका लागि :–

(क)   विज्ञापन प्रकाशित भएको दिन अठार वर्ष उमेर पूरा भई पच्चीस वर्ष ननाघेको,

(ख)   साधारण लेखपढ गर्न जानेको,

(ग)   पुरुषको हकमा छाती नफुलाउँदा तीस इञ्च र फुलाउँदा बत्तीस इञ्च भएको,

(घ)   प्रकरण (१) को खण्ड (क), (ख) र (ग) बाहेकका अन्य योग्यता भएको ।

(५)   सशस्त्र प्रहरी साधारण समूह, कानून उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लागि :–

(क)   मान्यताप्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातक उपाधि प्राप्त गरी नेपाल कानून व्यावसायी परिषद्‍बाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको,

(ख)   प्रकरण (१) को खण्ड (ख) बाहेकको अन्य योग्यता भएको ।

(६)   सशस्त्र प्रहरी साधारण समूह, लेखा उपसमूह, सशस्त्र प्रहरी निरिक्षक पदको लागि :–

(क)   मान्यताप्राप्त विश्वविद्यालयबाट लेखा विषय सहित व्यवस्थापन वा वाणिज्य बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको,

(ख)   प्रकरण (१) को खण्ड (ख) बाहेकको अन्य योग्यता भएको ।

(७)   सशस्त्र प्रहरी साधारण समूह, लेखा उपसमूह, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि :–

(क)   विज्ञापन प्रकाशित भएको दिन अठार वर्ष उमेर पूरा भई तेईस वर्ष ननाघेको,

      तर खुला प्रतियोगितामा भाग लिने राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीको हकमा तीस वर्ष ननाघेको र सशस्त्र प्रहरी जवान आधारभूत तालीम लिएका हुनु पर्नेछ ।

(ख)   मान्यताप्राप्त विश्व विद्यालयबाट लेखा विषय सहित व्यवस्थापन वा वाणिज्य बिषयमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको,

(ग)   प्रकरण (१) को खण्ड (क) र (ख) बाहेकको अन्य योग्यता भएको ।

(८)   सशस्त्र प्रहरी साधारण समूह, लेखा उपसमूह, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पदको लागि :–

(क)   विज्ञापन प्रकाशित भएको दिन अठार वर्ष उमेर पूरा भई बाईस वर्ष ननाघेको,

      तर खुला प्रतियोगितामा भाग लिने राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीको हकमा तीस वर्ष ननाघेको र सशस्त्र प्रहरी जवान आधारभूत तालीम लिएको हुनु पर्नेछ ।

(ख)   मान्यताप्राप्त शिक्षणसंस्थाबाट लेखा बिषय लिई एस.एल.सी. उत्तीर्ण गरेको,

(ग)   प्रकरण (१) को खण्ड (क) र (ख) बाहेकको अन्य योग्यता भएको ।

(९)   सशस्त्र प्रहरी प्राविधिक समूहको पदको लागि :–

(क)   सशस्त्र प्रहरी नायब उपरीक्षक पदको लागी पच्चीस वर्ष उमेर पुरा भई पैतीस वर्ष ननाघेको, सशस्त्र प्रहरी निरीक्षक पदको लागि एक्काईस वर्ष उमेर पुरा भई तीस वर्ष ननाघेको र राजपत्र अनङ्कित पदको लागि अठार वर्ष उमेर पुरा भई सत्ताईस वर्ष ननाघेको,

      तर बहालवाला सशस्त्र प्रहरी कर्मचारी तीस वर्ष उमेर पुरा नभएसम्म राजपत्र अनङ्कित पदको खुल्ला प्रतियोगितामा उम्मेदवार हुन सक्नेछ ।

(ख)   स्वास्थ्य तर्फको सशस्त्र प्रहरी नायब उपरीक्षक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट        सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी एम.डि.प्रमाणपत्र प्राप्त गरेको,

(ग)   सशस्त्र प्रहरी निरीक्षक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो सरहको उपाधि प्राप्त गरेको,

(घ)   सशस्त्र प्रहरी नायब निरीक्षक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा प्रमाण पत्र तह वा सो सरहको उपाधि प्राप्त गरेको,

(ङ)   सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.एल.सी. वा सो सरह उतीर्ण गरी सम्बन्धित विषयमा मान्यता प्राप्त संस्थाबाट एक वर्षको तालीम लिएको,

(च)   सशस्त्र प्रहरी हवल्दार पदको लागि कम्तीमा दशम कक्षा उत्तीर्ण गरी सम्बन्धित विषयमा मान्यता प्राप्त संस्थाबाट छ महिनाको तालीम लिएको,

(छ)   सशस्त्र प्रहरी जवान पदको लागि कम्तीमा आठ कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट   सम्बन्धित विषयमा कम्तीमा छ महिनाको तालीम लिएको,

(ज)   चिकित्सक, नर्स वा इन्जिनियरको पदमा नयाँ भर्नाद्वारा नियुक्ति हुनको लागि सम्बन्धित उम्मेद्वारको नाम क्रमशः नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल वा नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको,

(झ)  आँखा माईनस दुई दशमलव पाँच वा प्लस दुई दशमलव पाँच भन्दा बढी कमजोर  नभएको ।

(ञ)   प्रकरण (१) को खण्ड (क), (ख) र (च) बाहेकको अन्य योग्यता भएको ।